Master's Programme in Sports Science

Kirtipur, Kathmandu

तीजको शुभकामना आदानप्रदान सम्पन्न 

तीजको शुभकामना आदानप्रदान सम्पन्न 

2026-09-10

नेपालीहरूको महान चाड हरितालिका तीज पर्वको अवसरमा खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रममा आठौं ब्याचमा अध्ययनरत विद्यार्थीहरूले तीजका मिठा गीत गाउँदै शुभकामना आदानप्रदान गरेका छन् । राजन शाहको अध्यक्षतामा कार्यक्रमको आयोजना गरी चेलीबेटीहरूलाई तीजको दर खुवाउने कार्यक्रम राखेको राज विष्टले बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारीले तीज मनाउँदा खानपान र स्वास्थ्यमा ख्याल गर्नुपर्ने बताउनु भयो । उहाँले आफुले गाउँघरमा हुँदा थाहा पाएदेखि तीज पर्वको महत्व उस्तै रहेको भएता पनि पर्व मनाउने शैली शहरमा आइपुग्दा फेरिएको बताउनु भयो । तीजलाई दिदीबहिनीको दुःखसुख साटासाट गर्ने पर्वका रूपमा लिइने हुँदा नेपाली समाजमा यसको महत्व रहेको उहाँले उल्लेख गर्नुभयो । यस्तै छात्राहको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै सीता राईले आफुहरूले गाउँघरदेखि नै तीज पर्व मनाउने र दुःखसुख साटासाट गर्ने पर्वको रूपमा मनाउने गरेको स्मरण गर्दै अहिले एक महिना अगाडि देखि शहरी परिवेशमा पार्टी प्यालेसमा भड्किलो पर्वको रूपमा पैसा उठाएर खर्चिलो गरी मनाउने गरेको पाएको बताउनु भयो । सबैले तीजलाई मितव्ययि बनाउनु पर्ने बताउनु हुँदै उहाँले सबैमा शुभकामना दिनुभयो । अध्यक्षता गर्दै राजन शाहले भड्किलो संस्कार परिवर्तन गर्नुपर्ने बताउनु हुँदै सबैमा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन राज विष्टले गर्नुभएको थियो । कार्यक्रममा उपप्राध्यापक तारालाल श्रेष्ठको समेत सहभागिता रहेको थियो ।