Master's Programme in Sports Science

Kirtipur, Kathmandu

आठौं ब्याचका प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

आठौं ब्याचका प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

2026-02-05

त्रिवि खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रमको आठौं ब्याचका प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारीले फरक फरक ब्याचमा फरक फरक क्षेत्रमा आबद्ध विद्यार्थीहरु भर्ना हुन आउने हुँदा हरेक वर्ष हरेक सेमेष्टरको पठन पाठन रोचक एवम् महत्वपूर्ण हुँदै जाने गरेको अनुभव बताउनु भयो । त्रिविमा खेलकुद विज्ञान विषयको स्नातकोत्तर कार्यक्रमको परिकल्पनाकार प्रा.डा. रामकृष्ण महर्जन लगायत सबै जना अहिले पनि सँगसँगै भएको र आगामी दिनमा यसै कार्यक्रमको विद्यार्थीहरुलाई पुस्तान्तरण गर्दै जाने योजना गरिरहेको बताउनु भयो । 
कार्यक्रममा प्रा. विधान आचार्यले त्रिवि र यस अन्तरगत सञ्चालित शैक्षिक कार्यक्रमहरु र खेलकूद विज्ञान विषयकाे सबै सेमेस्टरमा समेटिएकाे पाठ्यक्रमबारे प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रा. आचार्यले खेलकूदको लागि नेपाल उपयुक्त देश रहेको बताउनुभयो । साथै उहाँले खेलकूदमा रुची भएका व्यक्तिहरुलाई खेलकूदको नीति निर्माण तहमा पु¥याउन, व्यवस्थापक बनाउन, अनुसन्धानकर्ता बनाएर नीति कार्यान्वयनमा संलग्न गराउन सैद्धान्तिक ज्ञान हासिल गराउने मुख्य उद्देश्यले स्नातकोत्तर कार्यक्रमको सञ्चालन त्रिविमा भइरहेको बताउनु भयो । 
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै डा. प्रकाश प्रधानले आफुले किन खेलकूद विषय रोजेको हो भन्नेबारे विद्यार्थी स्पष्ट हुनुपर्ने बताउनुहुँदै सबै विद्यार्थीले पहिचान र प्रतिष्पर्धालाई योग्य हुने गरी उपाधि हासिल गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसैगरी डा. तारालाल श्रेष्ठले विभिन्न क्षेत्रमा आबद्ध विद्यार्थीहरु यो विषय अध्ययन गर्न भर्ना हुने हुँदा सबैले शिक्षण सिकाई मात्र नभई अनुभव आदानप्रदानमार्फत पठन पाठन हुने गरेको बताउनु भयो । यस्तै प्रा.डा. रामकृष्ण महर्जनले खेलकूदलाई विज्ञानसँग जोड्नु उपयुक्त भएकोले यो विषयको जन्म भएको बताउनु भयो । कार्यक्रमको सहजीकरण डा. राजेन्द्र खत्रीले गर्नुभएको थियो । कार्यक्रममा अन्य प्राध्यापकहरु, कर्मचारी तथा आठौं समूहको पहिलो समेष्टरमा प्रवेश परीक्षा उत्तीर्ण भई भर्ना लिईसकेका २७ विद्यार्थीहरुको सहभागीता रहेको थियो । पहिलो सेमेस्टरको पठनपाठन यहि माघ २५ गते आइतवारदेखि शुरु हुने जानकारी विद्यार्थीहरुलाई दिइएको छ ।