Kirtipur, Kathmandu
त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तरगत आन्तरिक स्रोतबाट सञ्चालित खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका संस्थापक कार्यक्रम संयोजक प्रा.डा. रामकृष्ण महर्जनलाई उहाँको योगदानको चर्चा गर्दै आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । प्रा.डा. महर्जनलाई प्रमुख अतिथि मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकाल, विशिष्ट अतिथि विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्र, प्रोक्टर प्रा.डा. गणेश अधिकारी र कार्यक्रम संयोजक प्रा.डा. पशुपति अधिकारीले खादा, माला र सम्मान पत्र प्रदान गरी सम्मानीत गर्नुभएको हो । प्रा.डा. महर्जन वि.सं. २०७१ सालमा खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमको स्थापनाकालमा कार्यक्रम संयोजकको जिम्मेवारी रही कार्य गर्नुभएको र उहाँले हालसम्म पनि अध्यापन गर्दै आउनु भएको छ ।

यसैगरी त्रिविका वरिष्ठ प्रशिक्षक गंगाबहादुर थापा मगरलाई समेत सम्मानीत गरिएको छ । वि.सं. २०८० सालसम्म दुई कार्यकाल कार्यक्रम संयोजकको भुमिका निर्वाह गर्नुभएका थापा मगरले हालसम्म अध्यापन कार्य गर्दै आउनु भएको छ । उहाँलाई समेत प्रमुख अतिथि मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुविनन्द ढकाल, विशिष्ट अतिथि विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्र, प्रोक्टर प्रा.डा. गणेश अधिकारी र कार्यक्रम संयोजक प्रा.डा. पशुपति अधिकारीले खादा, माला र सम्मान पत्र प्रदान गरी सम्मानीत गर्नुभएको हो ।
