Kirtipur, Kathmandu
यस खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रममा अध्ययनरत विद्यार्थी द्वय सिक्का सुवाल श्रेष्ठ र ललिता नाथलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । त्रिवि खेलकुद विज्ञान विषयमा स्नातकोत्तर तहका विद्यार्थीहरूले उनीहरु राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा मनोनीत भएकोमा सम्मान गरेका छन्। ललिता नाथ राष्ट्रिय भलिबल खेलाडी समेत रहेकी छन् । आठौँ ब्याचका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा श्रेष्ठ र नाथ दुवैलाई पुष्पगुच्छा, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रममा खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमका संयोजक प्रा. पशुपति अधिकारीले प्रमुख अतिथि आसनबाट बाेल्नुहुँदै खेलकुद विज्ञानका विद्यार्थी राष्ट्रिय खेलकुदको निर्णय तहमा पुग्नु विश्वविद्यालय र समग्र खेलकुद विज्ञान क्षेत्रकै गौरव भएको बताउनु भयो। साथै उहाँले ज्ञान, अनुभव र वैज्ञानिक दृष्टिकोणको प्रभावकारी समन्वयबाट मात्र नेपाली खेलकुदलाई व्यवस्थित, प्रतिस्पर्धी र परिणाममुखी बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै विशिष्ट अतिथि प्रा. डा. रामकृष्ण महर्जनलगायतका वक्ताहरूले नवनियुक्त बोर्ड सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिँदै खेलाडीको हित, वैज्ञानिक प्रशिक्षण, अनुसन्धान, सुशासन र संस्थागत उत्तरदायित्वलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको थियो ।
सम्मान ग्रहण गर्दै श्रेष्ठ र नाथले आफूमाथि गरिएको विश्वासलाई गम्भीर जिम्मेवारीका रूपमा लिएको बताए। उनीहरूले खेलाडीका समस्या तथा खेलक्षेत्रका व्यावहारिक अनुभवलाई नीति निर्माणसँग जोड्दै नेपाली खेलकुदको संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
खेलकुद विज्ञान सातौँ ब्याचको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान)का पूर्वसचिव दुर्गा पाठकले शुभकामना मन्तव्य राख्नुभएको थियो । उनले श्रेष्ठ र नाथको नियुक्तिलाई व्यक्तिगत उपलब्धिमा मात्र सीमित नराखी खेलकुद विज्ञान अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि गौरव र प्रेरणाको विषयका रूपमा लिनुपर्ने बताउनु भयो । पाठकले खेलाडीको अनुभव र शैक्षिक ज्ञानसहित खेलकुदको नीतिगत तहमा पुगेका व्यक्तित्वबाट नेपाली खेलकुदको संस्थागत सुधारमा सकारात्मक तथा परिणाममुखी भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग)की पदक विजेता तथा आठौँ ब्याचकी विद्यार्थी सीता राईले स्वागत मन्तव्य राख्नुहुँदै खेलमैदानको व्यावहारिक अनुभव र खेलकुद विज्ञानबाट प्राप्त वैज्ञानिक ज्ञान राष्ट्रिय खेलकुदको नीति निर्माण तहसम्म पुग्नु सुखद् तथा अर्थपूर्ण उपलब्धि भएको बताउनु भयो ।
बक्सिङका राष्ट्रिय रेफ्री तथा जज एवं खेल पत्रकार राज बिष्टले सञ्चालन गरेको कार्यक्रममा खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमका छैटौँ र सातौँ ब्याचका विद्यार्थीका साथै आयोजक आठौँ ब्याचका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा कार्यक्रमका प्राज्ञिक व्यक्तित्व एवं अध्यापक विधान आचार्य, डा. तारालाल श्रेष्ठ र चन्दन कोजु, सुनोज भट्टराई, प्रशासन शाखा प्रमुख नोदनाथ त्रिताललगायतको उपस्थिति थियो।
सभाध्यक्ष संगीत श्रेष्ठले कार्यक्रमलाई समापन गर्नुहुँदै नवनियुक्त बोर्ड सदस्यहरूको कार्यकाल पारदर्शी, उत्तरदायी, प्रभावकारी र उपलब्धिमूलक बन्ने विश्वासका साथ सफलताको शुभकामना दिनुभएको थियो ।
यो कार्यक्रमको विस्तृत समाचार लिँक यहाँ छ ।
