Master's Programme in Sports Science

Kirtipur, Kathmandu

हाइकिङ कार्यक्रमको अनुभव आदानप्रदान तथा अभिमुखीकरण सम्पन्न 

हाइकिङ कार्यक्रमको अनुभव आदानप्रदान तथा अभिमुखीकरण सम्पन्न 

2026-05-13

त्रिवि खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रम आठौं ब्याच प्रथम सेमेस्टरका विद्यार्थीहरुले आयोजना गरेको एक दिवसीय हाइकिङ्ग अनुभव आदानप्रदान र अभिमुखीकरण कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । छैंटौं ब्याच चौथो सेमेस्टरको सहकार्यमा आयोजना भएको सो कार्यक्रममा प्रथम र तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि चौथो सेमेस्टरका विद्यार्थीहरुले गत महिना आयोजना गरेको शिवपुरी जमाचो गुम्बा हाइकिङ्ग कार्यक्रमको अनुभव आदानप्रदान गरिएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि स्नातकोत्तर कार्यक्रमका कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारीले ज्ञान र सिकाई स्थानान्तरणका लागि यस्ता अनुभव आदानप्रदान कार्यक्रम उपयोगी हुने बताउनु भयो । उहाँले हाईकिङ्ग यात्राको अनुभव स्मरण गर्नुहुँदै यात्राको क्रममा सरसफाई, स्वास्थ्य जाँच, योगा, ध्यान र मनोरञ्जनात्मक कार्य हुँदै सुरक्षा निकायसँगको समन्वय अत्यन्त उदाहरणीय रहेको बताउनु हुँदै कार्यक्रम विद्यार्थीहरुले योजनाबद्ध र व्यवस्थित रुपमा आयोजना गरेको आफुले पाएको र प्रतिवेदन प्रस्तुतीकरणले सिकाई स्थानान्तरण गरेको बताउनु भयो । 
विषय शिक्षक द्वय सुलोचना सिजख्वाले  छोटो समयमा पनि विद्यार्थीहरुले कुशलतापुर्वक कार्यक्रम आयोजना गर्ने सीप हासिल गरेको र अग्रजहरुबाट सकारात्मक कुराहरु पछिल्लो सेमेस्टरका विद्यार्थीले पनि सिकाई गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा डा. प्रकाश प्रधानले हाइकिङ्ग रुट तय गर्दा त्यसको उचाई र भौगोलिक अवस्था विश्लेषण गरेर मात्र यात्रा गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा अनुभव सुनाउनुहुँदै सिर्जनात्मक खेलकूद भनेको सबैलाई समेटेर सहकार्यमा गरिने कुटनीति विज्ञान भएको बताउनु भयो । चौथो सेमेस्टरका तर्फबाट करिब चार किलोमिटर दुरीको हाईकिङ्गको अनुभव प्रस्तुतीकरण रामकृष्ण महर्जन, कपिल भट्ट, धर्मकुमार श्रेष्ठ, विधान भण्डारी र भीमसिं गुरुङले गर्नुभएको थियो । कार्यक्रममा सेमेस्टरको प्रतिनिधित्व गर्दै संगीत श्रेष्ठ र संजीव ढकालले आफ्नो समूहको साथीहरुले पनि आगामी दिनमा हाइकिङ्ग कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुृभएको थियो । कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै प्रथम सेमेस्टरको तर्फबाट विनी महर्जनले हाइकिङ्ग केबल पैदल यात्रा मात्र नभई मानिसलाई प्रकृतिसँग नजिकिने माध्यम रहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष डा. लक्ष्मण अधिकारीले सहभागी सबैलाई धन्यवाद दिनुहुँदै हाइकिङ्गको अनुभवले विद्यार्थीमा नयाँ उर्जा प्राप्त भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन आठौं ब्याचका सीताकुमारी राईले गर्नुभएको थियो । राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा खेलकुद विज्ञान विषय अध्ययन गर्दै गरेका प्रथम, तेस्रो र चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु, विषय शिक्षकहरु रिता मैया प्रजापति, सुवर्ण रोकाहा क्षेत्री, डा. राजेन्द्र खत्री, शाखा अधिकृत नोदनाथ त्रिताल, लेखा अधिकृत सुविन्द्र महर्जन लगायतको सहभागिता रहेको थियो ।