Kirtipur, Kathmandu
खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रमको आठौं व्याज पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक कार्य अन्तरगत खेलकूद विज्ञानमा सिकाई सिद्धान्तहरु सम्बन्धी एक दिवसीय सेमिनार सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् कार्यक्रम संयोजक प्रा. पशुपति अधिकारीले सेमिनारबाट एक आपसमा विद्यार्थीहरुबीच ज्ञान शेयर भएको आफुले पाएको बताउनुभयो । तीन दशकभन्दा बढी समयदेखि हामीले पढाउने गुरु हामीसँगै रहनुभएको स्मरण गर्दै अबका दिनमा सिकाउने अभ्यास गराउनु पर्ने र पढाउन छोड्नुुपर्ने बताउनुभयो जुन सिकाई सिद्धान्तले निर्देशित गर्ने उहाँले बताउनुभयो । सिस्टमभित्र आफुलाई कुन तहमा रहेको आफैंले सक्रियताका साथ खोज्नुपर्ने बताउनुहुँदै शैक्षिक प्रणालीलाई बुझेर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । सिस्टमभित्र सिकाई प्रक्रियालाई व्यवस्थित गर्न सकियो भने भौतिक एवम् मानवीय स्रोत साधनको लगानीलाई शिक्षण सिकाई प्रक्रियामा लगेर गुणस्तरीय नतीजा निकाल्नुपर्ने बताउनुभयो । मान्छे, वस्तु र परिस्थितिको व्यवस्थापन गर्न शिक्षक, विद्यार्थीले सिक्नुपर्छ । सिकाउन सक्छु भन्नेले सिकाउने हो भने पढ्न सक्छु भन्नेले मात्र पढ्ने हो । विद्यार्थीले कक्षामा अरु भुमिकामा नभई सिक्ने भुमिकामा प्रवेश गरे ज्ञान, सीप र धारणासँग सम्बन्धित कुरालाई व्यवस्थापन गर्न सकिने बताउनुभयो । सिकाई प्रक्रिया सहि भए मात्र नतीजा राम्रो आउने र उपलब्धी हासिल गर्न सकिने धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा.डा. रामकृष्ण महर्जनले विगतदेखि नै विद्यार्थीहरुलाई सिकाई सिद्धान्त अनुसार पठनपाठन नहुँदा विद्यालय तथा विश्वविद्यालयहरुमा विद्यार्थीहरुले कसरी सिकिरहेका छन् भन्ने शिक्षकहरुले समेत राम्रोसँग नबुझेको अवस्था रहेको बताउनु भयो । पाठ्यक्रमले नै नयाँ नयाँ कुरा सिकाउन सक्ने विषयवस्तुसमेट्नुपर्ने उहाँले बताउनुभयो । आफ्ना खेलाडी र विद्यार्थीहरुले सिक्न तरिका थाहा पाउन सिद्धान्तहरु बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सिद्धान्तले कुनै पनि उमेर समूहको व्यक्तिलाई सोहि व्यक्तिले बुझ्ने भाषामा सञ्चार गर्न सके चाँडो सिक्न सक्ने कुरा उल्लेख गरेको बताउनुहुँदै सिद्धान्तहरुको बारेमा विद्यार्थीले राम्रो सँग अध्ययन गरेर बुझ्नुपर्ने बताउनु भयो । सिकाई सिद्धान्तहरुले शिक्षक, कोचहरुलाई पनि विद्यार्थीहरुको सिकाई अवस्थाबारे जानकारी हुने हुँदा सबैले सिद्धान्तहरुबारे ज्ञान लिनुपर्छ । उहाँले कक्षाकोठाबाट बाहिर आएर विद्यार्थीले आफँै आयोजना गरेको कार्यक्रम भएकोले धेरै नै सिकाई भएको आफुले अनुभव गरेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै डा. प्रकाश प्रधानले सेमिनारको महत्व बताउनुहुँदै शैक्षिक विषयवस्तुको प्रस्तुतीकरण शैक्षिक प्रकृतिको हुनुपर्ने बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुले विद्यर्थीको क्षमतालाई विधिवत रुपमा निखार्ने भएकोले शैक्षिक विधाको प्रस्तुतीकरणलाई कलात्मक बनाउन सिकाउने हुँदा प्रस्तुतीकरणको शैक्षिक फम्र्याट अपनाएर ज्ञानको खोजी गर्नुपर्ने भएकोले गहिरो अध्ययन जरुरी रहेको बताउनु भयो ।

यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै सहायक प्रशिक्षक इन्दिरा निरौलाले खेलकूद विज्ञान विषयमा विभिन्न विधाका विद्यार्थीहरु अध्ययनको लागि आउनुभएकोमा खुशी व्यक्त गर्दै सिक्ने कुराहरु कहिल्यै नसकिने र समय अनुसार नयाँ नयाँ कुराहरु आइरहने भएकोले शिक्षक विद्यार्थी सँगै मिलेर सिक्नुपर्ने बताउनुभयो ।

त्यस्तै सिनियर फिजियोथेरापिस्ट डा. सुरज भुषालले आफ्नो मन्तव्य राख्दै विद्यार्थीको आत्मविश्वास राम्रो पाएको पाएँ । आफुपनि वादविवादमा कहिल्यै दोस्रो नभएको अनुभव सुनाउनु हुँदै आफु सधैं तेस्रो वा पछाडि पर्ने गरेको बताउनु भयो । आफुले सिकेको ज्ञानलाई आफ्नो कार्य क्षेत्रमा लैजान सक्ने गरी रोल मोडल बनेर लिडर बन्ने प्रयत्न विद्यार्थीहरुले गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरुको तर्फबाट राजकुमार पोख्रेलले खेलकूद विज्ञान कार्यक्रम र समग्र खेलकूदको विकासका लागि हामी सबैले योगदान गर्नु अहिलेको आवश्यकता भएको अग्रजहरुबाट नेपाली खेलाडीहरुको पहिचान अभिवृद्धि गर्न र खेलकूदको विकासमा गर्नुभएको प्रयत्नलाई सबैले नमन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम चार सेसनमा विभिन्न सिकाई सिद्धान्तहरुको बारेमा कार्यपत्रह्रु प्रस्तुती गरेर सञ्चालन भएको थियो । पहिलो सेसनको मोडरेटन राज विष्टले गर्नुभएको थियो । सो सेसनमा राज श्रेष्ठ, पलकित विनोद अधिकारी, सनम तिमल्सिना ,आशिष खवास र विवेक मानन्धर लगायतले प्रस्तुतीकरण गर्नुभएको थियो । जसमा महेश श्रेष्ठ र मनिशा सिँहले टिप्पणी गर्नुभएको थियो । यसैगरी दोस्रो सेसनमा आशिष खवास, गौरव श्रेष्ठ, करिना पुरी लगायतले सिद्धान्तहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने विषयवस्तुमा राजन शाह तथा तोरण रेग्मीले कमेन्ट गर्नुभएको थियो । सेसनको सहजीकरण प्रशान्त तामाङ्ले गर्नुभएको थियो । यसैगरी तेस्रो सेसनको सञ्चालन विनी महर्जनले गर्नुु भएको थियो भने कार्यपत्र प्रस्तुती क्षितिज आचार्य र लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

यसैगरी चौथो तथा अन्तिम सेसनको सञ्चालन दिनेश विष्टले गर्नुभएको थियो भने राजन प्रजापति, मिकेसन प्रधान र मदन बोहरा लगायतले प्रस्तुतीकरण र अखिलेश कार्कीले कमेन्ट गर्नुभएको थियो । विद्यार्थीहरुमा सिकाई सिद्धान्तहरुको सैद्धान्तिक ज्ञान र त्यसको व्यवहारिक प्रयोगका लागि सिकाई आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको अध्यक्षता संगीत श्रेष्ठले गर्नुभएको थियो भने सो कार्यक्रम सञ्चालन आयोजक समितिकी सचिव सीता राईले गर्नुभएको थियो । कार्यक्रममा प्रथम सेमेस्टरका विद्यार्थीहरुका साथै शिक्षाशास्त्र संकाय अन्तरगत शारीरिक शिक्षा विषयका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । यसैगरी अतिथिहरु पूर्व कार्यक्रम संयोजक गंगाबहादुर थापा मगर, प्राध्यापकहरु डा. राजेन्द्र खत्री, डा. प्रकाश प्रधान, डा. सुरज भुषाल, राजकुमार कार्की, चन्दन कोजु, राकेशकुमार राई, प्रशासन शाखा प्रमुख नोदनाथ त्रिताल लगायतको सहभागिता रहेको थियो ।
