Master's Programme in Sports Science

Kirtipur, Kathmandu

हाईकिङ्, योगाभ्यास, ध्यान र फोहोर संकलन सम्पन्न

हाईकिङ्, योगाभ्यास, ध्यान र फोहोर संकलन सम्पन्न

2026-04-04

त्रिवि खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रमको छैटौं ब्याच चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यक्रममा आधारित भएर एक दिवसीय शिवपुरी नागार्जुन–जामाचो हाइकिङ् कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा वातावरण संरक्षणका लागि सामुहिक रुपले फोहोर सङ्कलन र योगाभ्यास र ध्यानको कार्यक्रम समेत सम्पन्न भएको छ । यो कार्यक्रम केवल हाइकिङ् मात्र नभई सिकाइ, अनुभव, अनुशासन र मानवीय सेवाको एक प्रेरणादायी यात्रा बन्न सफल अनुभव  विद्यार्थीहरुले गरेका छन् । 
कार्यक्रमको उद्घाटन गर्नुहुँदै कार्यक्रम संयोजक प्रा पशुपति अधिकारीले विद्यार्थीहरुलाई कार्यक्रम व्यवस्थापनको सीप सिकाउन यस्ता खाले कार्यक्रम आयोजना हुने बताउनु भयो । उहाँले विद्यार्थीहरुले सैद्धान्तिक रुपमा पढेको कार्यले समूहमा योजना निर्माण तथा कार्यक्रम सञ्चालनको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने, समाजलाई प्रेरणा दिने र खेलकूद र स्वास्थ्य क्षेत्रमा सहयोग पुग्ने बताउनु भयो । 


शिवपूरी नागार्जुन जँगलमा रहेको जामाचो गुम्बा परिसरमा हेमराज थापाको नेतृत्वमा सहभागीहरुद्धारा योगाभ्यास र ध्यान गरिएको थियो भने विद्यार्थीहरुले फर्कँदा बाटोमा फालिएको फोहोर सङ्कलन गरी वातावरण स‌‌रक्षणमा सरसफाइकाे अभ्यास समेत गरेका थिए । 

यात्राको क्रममा प्रकृतिको काखमा रमाउँदै अगाडि बढ्ने क्रममा फोहोर संकलन, योग अभ्यास, ध्यान र आफ्ना अनुभवहरूको आदानप्रदान तथा स्पोर्ट्स साइन्सको प्रचारप्रसार जस्ता महत्वपूर्ण गतिविधिहरू सम्पन्न गरिएको थियाे । साथै, बाटोमा बिरामी भई अप्ठ्यारोमा परेका व्यक्तिहरूलाई प्राथमिक उपचार तथा सहयोग प्रदान गर्दै मानवताको सन्देशलाई व्यवहारमा उतार्ने अवसर मिलेको थियाे । 

“फोहोर बाटोमा नफालौँ, प्रकृतिसँग रमाऔँ र प्रकृतिलाई माया गरौँ” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै वातावरण संरक्षणप्रतिको प्रतिबद्धता बलियो बनाइएको थियाे । प्रकृतिसँगको यो नजिकको सम्बन्धले शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा पनि सुदृढ बनाएको अनुभव गरेका छौं।” आयोजक समितिका सचिव धर्म कुमार श्रेष्ठले बताउनु भयो । करिब पाँच किलोमिटर दुरीको शिवपूरी जामाचो गुम्बासम्मको रुटमा गरिएको हाइकिङ कार्यक्रममा प्राध्यापकहरु विधान आचार्य, सुलोचना सिजख्वा, चन्दन कोजु, सुनोज भट्टराई, नोदनाथ त्रितालको सहभागिता रहेको थियो  ।

हाइकिङ कार्यक्रमको समापन सत्रमा बोल्नुहुँदै सहभागीको तर्फबाट रामकृष्ण महर्जनले यात्रा अनुभव सुनाउनु भएको थियो भने मेडिकल टिमको तर्फबाट डा. रुपेश केसीले यात्रा अनुभव सुनाउनु भएको थियो । बाटोमा उकालो हिँड्दा गाह्रो भई बसी रहेकी एक महिलालाई फस्र्ट किट्स् बक्सबाट औषधी दिएर सहयोग गरिएको थियो भने फोहोर संकलनको क्रममा अन्य यात्रुहरुले राम्रो काम भनी शुभकामना दिएका थिए । 


समापन सत्रमा बोल्नु हुँदै प्राध्यापक विधान आचार्यले हाइकिङ अनुभव सुनाउनु हुँदै अनुपस्थित विद्यार्थीहरुले समेत फोटो देखेर आरिस गर्ने खालको प्रभावकारी कार्यक्रम भएको बताउनु भयो । हरेक वर्ष हाइकिङ् कार्यक्रम गर्न सके यस्ता कार्यक्रमको अनुभव प्रतिवेदनउपर विद्यार्थीले शोधकार्य गर्न सक्ने हुँदा प्रतिवेदन प्रभावकारी बनाउन पनि सुझाव दिनुभयो । यस्ता कार्यक्रम गर्न विषय शिक्षकको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो  । उहाँले प्रत्येक कामको बारेमा सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप हुनु नै योग भएको अनुभव सुनाउँदै उहाँले आजको कार्यक्रम वास्तबमै योग भएको बताउनु भयो । उहाँले खेलकूद विज्ञानका विद्यार्थीहरुलाई स्वभिमानसहितको अभिमानका साथ स्नातकोत्तर तह पूरा गर्न शुभकामना दिनुभयो । विषय शिक्षक सुलोचना सिजख्वाले सैद्धान्तिक रुपमा अध्यापन गरेको विषयलाई व्यवहारिक प्रयोग गरेर आजको कार्यक्रम उपयोगी र सफल भएको बताउनु भयो । उहाँले समाजलाई खुशी बनाउने माध्यम खेलकूद बन्न सक्ने हुँदा विश्वव्यापी रुपमा खेलकूदमा यस्ता क्रियाकलापहरु हुने बताउनु भयो । उहाँले हाइकिङको मुख्य उद्देश्य नै मनोरञ्जन र खुशीपन अभिवृद्धि भएकोले आजको कार्यक्रम रमाइलोसँग पूरा गर्न पाएकोले हामी सक्षम छौं भन्ने प्रमाणित गरेको बताउनु हुँदै विद्यार्थीहरुको प्रयोगात्मक मुल्याँकनमा समूह कार्यको महत्वपूर्ण भूमिका हुने हुँदा को कति सक्रिय रुपमा कार्यक्रममा सहभागी भयो भन्ने कुराले विद्यार्थीको भविष्यको कार्य क्षमता प्रष्फुटण हुने धारणा व्यक्त गर्नुभयो । यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, समूहकार्यको भावना, समस्या समाधान गर्ने क्षमता तथा व्यवहारिक सीपहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, यसले हाम्रो आत्मविश्वास, सहकार्य र सामाजिक उत्तरदायित्वप्रति सचेतना अझ प्रगाढ बनाएको छ।

समापन मन्तव्य दिनुहुँदै कार्यक्रमका अध्यक्ष भीमसिँह गुरुङ्ले हाइकिङको क्रममा पदयात्रीहरुलाई वातावरणमैत्री यात्रा गर्नुपर्ने सन्देश प्रवाह गर्न फोहोर संकलनको योजना बनाएर सफल भएको बताउनु भयो । उहाँले खेल पर्यटनसँग हाइकिङ् कार्यक्रमलाई जोड्न सके समाजको आर्थिक क्षेत्रमा योगदान गर्न सकिने बताउनु भयो । उहाँले खेलकूदका विद्यार्थीहरुले नयाँ नयाँ हाइक रुट पत्ता लगाई सरकारलाई पर्यटन प्रवद्र्धनका लागि सुझाव दिनुपर्ने समेत बताउनु भयो । पहिले पढ्न कुरालाई बोझको रुपमा लिने विद्यार्थीहरुको बानी अहिले पढ्ने कुरा आनन्दको विषयमा परिवर्तन भएको अनुभव रहेको बताउनु भयो । सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव धर्मकुमार श्रेष्ठले गर्नुभएको थियो ।