Master's Programme in Sports Science

Kirtipur, Kathmandu

छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न

छात्रा बास्केटबल प्रतियोगिता सम्पन्न

2026-02-21

त्रिवि खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रममा छैटौं ब्याच अन्तरगत चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रोजेक्ट मिट अन्तरगत छात्रा बास्केटबल प्रतियोगिता कीर्तिपुरमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा काष्ठमण्डप स्कूलले प्रथम स्थान हासिल गरेको छ भने एभीएम स्कूलले दोस्रो स्थान, पुष्पसदन स्कूलले तेस्रो स्थान र बुढानिलकण्ठ स्कूलले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम, द्वित्तीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई आयोजकको तर्फबाट पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको उत्कृष्ट खेलाडीको उपाधि काष्ठमण्डप स्कूलकी साइरा बानियाँले जित्न सफल भइकी छन् ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् खेलकूद विज्ञान स्नातकोत्तर कार्यक्रम संयोजक प्राध्यापक पशुपति अधिकारीले  खेलकूद विज्ञान विषय अध्ययन गरेका विद्यार्थीहरुले देशकाे खेलकूदकाे विकासमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाे जानकारी दिनुहुँदै खेलकूद विद्यार्थीको स्वास्थ्य र शिक्षामा खेलकूदको महत्वपूर्ण भुमिका हुने बताउनु हुँदै विद्यालयस्तरदेखि विद्यार्थीहरुमा खेलकूदप्रति रुची जगाई खेलकूदको विकासमा उत्प्रेरित गर्नुपर्ने बताउनु भयो । खेलकूद विज्ञान कार्यक्रमका बरिष्ठ प्राध्यापक डा. रामकृष्ण महर्जनले कार्यक्रमको महत्वमाथि चर्चा गर्नुहुँदै विद्यार्थीहरुमा खेलकूद प्रतियोगिताको आयोजना गर्ने सीप विकास गर्न यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने गरी पाठ्यक्रममा समावेश गरिएको बताउनु भयो । उहाँले यस्ता साना कार्यक्रमको आयोजनाले आगामी दिनमा ठुला कार्यक्रम आयोजना गर्न मद्दत पुग्ने, मनोरञ्जन र परीक्षा दुवै हुने हुँदा समूह कार्यको अनुभव पनि बढ्ने बताउनु भयो । डा. प्रकाश प्रधानले विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रम प्रभावकारी व्यवस्थापनमा भइरहेको अनुभव सुनाउनु भयो । सहप्रा विधान आचार्यले खेलकूदभित्र ज्ञान, सीप, सभ्यता, संस्कृति सबै चीज पाइने र चाँडो सही निर्णय लिन सक्ने क्षमता खेलाडीमा हुने हुँदा क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । प्रशिक्षक इन्दिरा निरौलाले खेलकूद विज्ञान विषयमा शिक्षक विद्यार्थीहरुको क्षमता र अनुभव आदानप्रदान हुनुपर्ने बताउनु हुँदै विद्यालयस्तरदेखि खेलकूदको पूर्वाधार र विकासमा विश्वविद्यालयले सहकार्य गरेर अगाडि जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजकको तर्फबाट रामकृष्ण महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै खेलकूद अनुशासन, आत्मविश्वास र सहकार्यको प्रतिक भएकोले खेलाडीहरुले अनुशासित भई कुशलता प्रदर्शन गर्न सक्नुपर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन छैठौं ब्याच आयोजक कमिटिका सचिव धर्मकुमार श्रेष्ठले गर्नुभएको थियो भने आयोजक कमिटीका संयोजक भीमसिँह गुरूङ्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । शिक्षक डा राजेन्द्र खत्रीले एकल गायन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा खेलकूद विज्ञान कार्यक्रममा अध्ययनरत तेस्राे सेमेस्टरका विद्यार्थीहरु लगायत प्राध्यापक, कर्मचारी, विद्यार्थी खेलाडीहरु र सम्बन्धित विद्यालयका प्रतिनिधि र सहयाेगी सस्थाका प्रतिनिधिहरु तथा सञ्चारकर्मीहरु समेत गरी सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।